दफा ५९
कारोबार स्वतः स्थगन वा वदर हुने

(१) दफा ५८ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको जायजेथाका सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने अदालतले आदेश दिएकोमा त्यस्तो आदेश भएपछि देहायको कुनै कारबाही गर्न सकिने छैन र त्यस्तो कुनै कारबाही प्रारम्भ भइसकेको वा भइरहेको तर पूरा भइनसकेको भए त्यस्तो कारबाही स्वतः स्थगन हुनेछ :–
(क) दामासाहीमा पर्न लागेको व्यक्तिको कुनै पनि जायजेथा कसैलाई कुनै किसिमले हक हस्तान्तरण गरिदिन, नासो, धरौट राख्न, धितो बन्धकको रूपमा राख्न वा एक वर्षभन्दा बढी अवधिको लागि कुनै किसिमले लिज वा बहालमा दिन,
(ख) अदालतको फैसला बमोजिम दामासाहीमा पर्न लागेको व्यक्तिको जायजेथा जायजात गर्न वा धितो बन्धक चलन चलाउन,
(ग) दामासाहीमा पर्न लागेको व्यक्तिको कुनै जायजेथाबाट कुनै साहूको ऋण तिर्न वा कसैको दायित्व पूरा गर्न ।
(२) उपदफा (१) मा लेखिएको व्यवस्थाको प्रतिकूल हुने गरी गरेको कुनै पनि लिखत, करार, व्यवहार, कारोबार वा बन्दोबस्त स्वतः बदर भएको मानिनेछ ।